कोरिया: कैलालीकी हेमलता शर्मा दक्षिण कोरियाको ‘सिन्हान’ बैंक सहायक म्यानेजर पदमा नियुक्त भएकी छन्।
सन् २०१८ मा अध्ययनको सिलसिलामा दक्षिण कोरिया पुगेकी शर्मा पछिल्लो समय युवापुस्तालाई लागि निकै यदाहरणीय बनेकी हुँन्। सानै उमेरदेखि आफ्ना सपना बोकेर हिडेकी शर्मा कोरियाको कठोर शिक्षा प्रणाली, भाषिक अवरोध, सांस्कृतिक भिन्नता र जीवन यापनको चुनौतीबीच पनि निरन्तर संघर्ष र लगनशीलताको उदाहरण बनिन्।
शतप्रतिशत छात्रवृत्तिसहित उनले क्युङदोङ विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातक अध्ययन पूरा गरिन्। त्यसक्रममा उनले हप्ताको पाँच दिन, दैनिक पाँच घण्टा कक्षासँगै काम गर्नु परेको र घरबाटको अपेक्षाले मानसिक दबाब समेत खेप्नुपरेको स्मरण गर्छिन्। स्नातकपछि उनले ‘विश्वव्यापी संस्कृति उद्योग व्यवस्थापनमा स्नातकोत्तर (Master’s) अध्ययन सकिन्। अहिले उनी कोरियाली सरकारद्वारा सञ्चालित आप्रवासन तथा एकीकरण कार्यक्रम (KIIP) मा स्तर ५ सम्मको अध्ययन गरिरहेकी छिन्।
यसै क्रममा उनले क्याल्भिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय कार्यालय, हानपास रेमिट्यान्स तथा नेपाली राजदूतावासमा सहायक जनसम्पर्क अधिकृतको रूपमा पनि करिब १५ महिनासम्म कार्य अनुभव हासिल गरिसकेकी छन्। शैक्षिक यात्रा र कामको अनुभवसँगै उनले ‘वयस्क सिकाइ – मानसिक सीप’, ‘प्रशासनिक व्यवस्थापन’, र ‘दृढता र आत्मविश्वास निर्माण’ सम्बन्धी तीनवटा अन्तर्राष्ट्रिय प्रमाणपत्र समेत हासिल गरेकी छन्। हाल उनले प्राप्त गरेको जिम्मेवारीलाई प्रमुख प्राथमिकतामा राख्दै भविष्यमा विद्यावारिधि ९एजम्० गर्ने योजना बनाइरहेकी छन्। कोरियाको प्रतिष्ठित वित्तीय संस्था सिन्हान बैंकमा सहायक म्यानेजर पदमा नियुक्त हुनु नेपाली समुदायका लागि एक ऐतिहासिक उपलब्धि हो।
यो केवल व्यक्तिगत सफलताको कथा नभएर, सपना, परिश्रम र आत्म–विश्वासले कसरी सीमितताको घेरा तोड्न सक्छ भन्ने प्रेरणादायी उदाहरण पनि हो। कोरियामा रहँदा उनले पाएको अवसरलाई सदुपयोग गर्दै, हेमलता अहिले नेपाली युवापुस्ताका लागि प्रेरणाको प्रतीक बनिरहेकी छन्। उनका शब्दमा, “दुर्लभ अवसर पाउन सजिलो थिएन, तर त्यसभन्दा गाह्रो त्यो अवसरमा टिकिरहनु हो। त्यसका लागि आत्म–अनुशासन, निरन्तर प्रयास र आत्मविश्वास अत्यावश्यक रहेछ।”





