कैलाली: कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा लगाइएको ताला खोल्ने विषयमा छलफल गर्न कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले अग्रसरता लिएका छन् ।
आइतबार डीडीसी कार्यालयमा ताला लगाएको डीडीसी संरक्षण सङ्घर्ष समितिलाई भेटेर सिडिओ गोगन बहादुर हमालले छलफलको वातावरण बनाएका हुन ।भेटमा सिडिओले डीडीसीको केन्द्रीय कार्यालयमा फोन गरेर सोमबार छलफल हुने वातावरण मिलाएको सङ्घर्ष समितिका सह–संयोजक धर्म सिंह कुँवरले बताए।
उनले सिडिओले डीडीसीका अध्यक्ष बेद बहादुर क्षेत्री सँग फोन मार्फत कुरा गरेपछि सोमबार नगरपालिका सहित डीडीसीका प्रतिनिधि सँग अत्तरियामै त्रिपक्षीय छलफल हुने बताए । ‘सिडिओ सापले हामीलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाउनु भएको थियो’ उनले भने ‘छलफलमा हामीले डीडीसी अत्तरियामा राख्ने प्रतिबद्धता आउनुपर्ने भनेपछि वहाँले छलफलको वातावरण मिलाउनु भएको छ ।’ उनले डीडीसी सँगै यसै क्षेत्रमा पाउडर प्लान्ट राख्ने विषयमा कुरा अगाडि बढेको बताउँदै थप छलफलबाट निष्कर्ष निस्कने बताए ।
सिडिओ गोगन बहादुर हमालले डीडीसीका अध्यक्ष र एमडीलाई फोन गरेर छलफल गर्न आग्रह गरेको बताए । उनले डीडीसीका प्रतिनिधिले सोमबार सम्म आएर छलफल गर्ने फोन मार्फत जानकारी दिएको बताए । डीडीसी धनगढी सार्ने तयारी गरिएको भन्दै सङ्घर्ष समितिले जेठ ८ गते डीडीसी कार्यालयमा तालाबन्दी गरेको थियो । डीडीसीले गोदावरीमा जग्गा नपाइएको भन्दै धनगढी सार्न लागिएको बताउँदै आएको छ भने नगरपालिकाले हाल ३ ठाउँमा जग्गा खोजिएकाले त्यसलाई प्रक्रियामा ल्याउन अझै एक वर्ष समय दिनुपर्ने बताउँदै आएको छ । २०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसी सार्ने कुरा बाहिरिएपछि पुस १७ गते डीडीसी विस्तारका लागि आवश्यक जग्गा अत्तरियामै खोज्ने भन्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्ने कार्यदल गठन गरिएको थियो ।





