अत्तरिया : कैलालीको अत्तरियामा चैत्र २७ गते इलाका प्रहरी कार्यालय अगाडी रहेको दुर्गा मन्दिरमा हत्या गरिएको अवस्थामा भेटिएका जगदीश कैनी हत्या प्रकरणको आरोपित प्रहरीले सार्वजनिक गरेको छ ।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले कैनीको हत्या आरोपित बैतडीको डिलासैनीका हेमन्त बोहरालाई सार्वजनिक गरेको हो । प्रहरीले बोहराले पैसा चोरेको रिसको झोकमा अत्तरिया बजारका सडक पेटीमा बस्दै आएका कैनीको हत्या गरेको स्वीकार गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले चैत्र २६ गते राती मन्दिरका सुतेका कैनीको टाउकोमा ढुङ्गा प्रहार गरेर बोहराले हत्या गरेको बताए । मदिरा सेवन गरेका बोहरा रातीको समयमा मन्दिरमा सुत्न गएको बेला त्यही सुतेका कैनीको हत्या गरेको उनले बताए । राती उठ्दा आफ्नो ४ सय नभेटिएपछि बोहराले कैनीले चोरेको आशङ्कामा ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपितले बयान दिएको डिएसपी थापाले बताएका छन् ।
उनले सिसिटिभी फुटेजमा बोहरा चैत २६ गते साँझ ७ बजेर १३ मिनेटमा मन्दिरभित्र प्रवेश गरेको देखिएको र मृतक कैनी ८ बजेर ५५ मिनेटमा मन्दिर भित्र प्रवेश गरेको तर बाहिर ननिस्किएको बताए । राति ९ बजेर ८ मिनेटमा बोहरा मन्दिर बाहिर आएर मदिरा लिएर पुनः ९ बजेर १३ मिनेटमा भित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा कैद भएको छ । कैनीको हत्यापछि बोहरा धनगढीको एक होटलमा काममा लागेका थिए । होटलमा काम गरिरहेका बोहरा बुधवार ९बैशाख ३ गते० पुनः अत्तरियामा आएका थिए । अत्तरियाको शिविर बस्तीमा डुलिरहेका उनलाई बुधवार नै प्रहरीले पक्राउ गरेको हो ।
यसअघि अनुसन्धानका क्रममा प्रहरीले सडकमै बस्दै आएका सहित ३ जनालाई चैत्र २७ गते नै पक्राउ गरेका थियो । उनीहरूको नाम सार्वजनिक नगरेको प्रहरीले पक्राउ परेका एक जना अपाङ्गता भएका व्यक्तिले भने आरोप स्वीकार गरेको समाचार यसअघि बाहिरिएको थियो । तर, घटनाको प्रकृति हेर्दा ति व्यक्तिले हत्या गरेको प्रमाण नभेटिएपछि प्रहरीले अन्य कोषबाट अनुसन्धान सुरु गरेको थियो ।
डडेल्धुराको अमरगढी नगरपालिका – ७ पोखराका ३५ वर्षीय कैनीको चैत्र २७ गते बिहान टाउको फुटेको अवस्थामा शव फेला परेको थियो । उनको शव दुर्गा मन्दिर परिसरमा फेला परेको भए पनि हत्या भने मन्दिर भित्रै सुतेको अवस्थामा गरिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । मन्दिर भित्र कैनी सुतेको भनिएको ठाउँ रक्ताम्मे अवस्थामा भेटिएको थियो ।
मन्दिरबाट शव घिसारेर तल फालिएको अवस्थामा फेला परेको थियो । घटनाका बारेमा प्रहरीले भने बिहान पौने ७ बजे थाहा पाएको थियो ।घटना भएको दिन मन्दिरको मुख्य प्रवेशद्वारमा ताला लगाइएको भए पनि अन्य ३ वटा प्रवेशद्वार रहेको मन्दिरको एक प्रवेशद्वार भने सधैँ खुला रहने गरेको छ । सोही बाटो भएर अत्तरियाका सडक पेटीमा सुत्नेहरू पनि रातीको समयमा मन्दिरमा पुग्ने गरेका छन् । मन्दिरको उत्तर पट्टि पूर्व पश्चिम राजमार्गको पारी पट्टी इलाका प्रहरी कार्यालय मालाखेती रहेको छ ।





