सुदूरपश्चिममा: देवर भाउजूबीचको स्नेह दर्शाउने पर्व बिसु आज सुदूरपश्चिम प्रदेशमा मनाइँदै छ । नयाँ वर्षको पहिलो दिन बिसु पर्व मनाइने गरिन्छ ।
देवर भाउजूबीच सिस्नुपानी छ्यापेर ख्यालठट्टा गर्दै यस पर्वका अवसरमा रमाइलो गरिन्छ । बिहानै नुहाइधुवाइ गरी इष्टदेवको पूजाआराधना गरी पर्व मनाइने गरिन्छ।बिसु पर्वमा नयाँ लुगा लगाउने, मीठो मसिनो परिवारसँगै बसेर खाने चलन छ। नन्दभाउजू र सालीभिनाजुबीच एकअर्काले सिस्नोपानी छ्यापेर यस पर्वमा रमाइलो गरिँदै आएको छ, पछिल्लो समय यो चलन भने बिस्तारै हराउँदै गएको छ ।
एकले अर्कालाई सिस्नो लगाउँदा वर्षभरिमा शरीरमा चर्म रोग नलाग्ने जनविश्वास रहिआएको छ । बिसुका अवसरमा देउडा खेलिन्छ । सुदूरपश्चिमको विशेष परिकार भातसँगै गतानी डुब्का खाने गरिन्छ । बिसुका अवसरमा गतानी डुब्कासँगै रोट, माणा, सेलपुरी, मासुलगायतका परिकार बनाएर खाने चलन छ ।अछाम, बाजुरालगायतका क्षेत्रमा बिसु पर्वका अवसरमा महिलाहरूले पुतला खेल (नाच) देखाउने गर्दछन् । सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, बाजुरा, अछाम जिल्लामा मुख्यतः यो पर्व मनाइने गरिन्छ ।
बसाइँ सारेर कैलाली कञ्चनपुरलगायतका तराईका जिल्लामा झरेका पहाडी समुदायले बिसु पर्व मनाउने गर्दछन् । भारतको कुमाउँ गढवाल क्षेत्रमा पनि बिसु पर्व मनाइने गरिन्छ ।





