नेपाल, प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले असफल भए देश असफल हुने दावी गरेका छन्।
एमालेको झापा जिल्ला कमिटीले दमकमा आयोजना गरेको जागरणसभामा प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन्। ओलीले देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताउँदै ढुङ्गा हानेका भरमा राजनीति गर्न खोज्ने तमासेलाई जनताले नपत्याएको टिप्पणी गरे।‘आन्दोलनका नाममा बैंक डुबाउनेहरू, आगजनी गर्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र बिउँताउन क्रान्ति गर्छु भन्दा कोही उत्साहित हुनु पर्दैन।
त्यस्ताको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनाबाट देखिइसकिएको छ’, प्रधानमन्त्री ओलीले भने।प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दोहो¥याए। एमालेविनाको समृद्ध नेपालको सपना पूरा नहुने उनको दावी छ। ‘एमाले अझ विशाल हुनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो। एमाले असफल भए देश असफल हुन्छ’, उनले भने। प्रधानमन्त्री ओलीले रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले अब गति लिने जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने बताए। नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै भने‚ ‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौँ। भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ। यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ। अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ।’





